झापा— घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैंको रमाइलो सुरु हुन्छ ।  दशैं आए सङ्गै खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश ।  रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द नै छुट्टै हुन्छ। 

सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि  गाउका बस्ती गुञ्जायमान छन् ।  पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ ।

चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशिने क्रम बढेको बढ्यै छ ।

अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ । 

उकालीओराली, घासदाउरा गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ! सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।

बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेर रमाइलो गरेको छुट्टै आनन्द आउछ ।बाध्यताले गाउ छाडेकाहरूको उपस्थितिले दशैं आए सङ्गै प्राय गाउँघरमा उल्लासको माहोल छ।