काठमाडौं–कसैले भनेको सुन्दा पत्याउन गाह्रो लाग्न सक्छ, तर बेङ्गलुरेकी साइश्वरी पाटिलले सुतेरै ९ लाख भारतीय रुपैयाँ जितेकी छन् । हो, तपाईंले ठीक पढ्नुभयो, सुतेरै उक्त रकम जित्न सफल भएकी हुन् ।

साइश्वरी पाटिलले वेकफिट नामक कम्पनीद्वारा आयोजित निद्रा इन्टर्नसिपमा भाग लिई यो ठूलो रकम जितेकी हुन् । कार्यक्रममा सहभागीलाई राम्रो निद्राका लागि विभिन्न तालिम, प्रिमियम म्याट्रेस, र सम्पर्क रहित निद्रा ट्र्याकर जस्ता उपकरणहरू उपलब्ध गराइन्छ ।

OM Sai Pathibhara Hospital

अहिलेको व्यस्त जीवनशैलीले धेरैलाई राम्रोसँग निदाउन गाह्रो पार्दैछ । काम, तनाव, र खराब निद्रा वातावरणले गर्दा धेरैको निद्रा बिग्रिएको छ । यस्तै समस्यामा परेका व्यक्तिहरूका लागि यो कार्यक्रम अत्यन्त उपयोगी साबित भएको छ ।

साइश्वरीले प्रतियोगितामा भाग लिएर आफ्नो निद्राको गुणस्तरमा सुधार ल्याई ‘स्लीप च्याम्पियन’  को उपाधि जित्न सफल भइन् । उनले निद्राका चक्र र तिनीहरूको स्वास्थ्यमा प्रभावको बारेमा धेरै कुरा सिकेकी छन् । 

उनका अनुसार राम्रोसँग निदाउनु केवल स्वास्थ्यका लागि मात्र होइन, पैसा कमाउने माध्यम पनि हुन सक्छ । कार्यक्रमले निद्रा विज्ञानलाई बुझ्न र यसको महत्त्वलाई मान्यता दिनु आवश्यक छ भन्ने सन्देश दिएको छ । 

साइश्वरीको अनुभवले दर्शाउँछ कि अनुशासन र समय व्यवस्थापनका साथ राम्रो निद्रामा ध्यान दिनु जीवनको गुणस्तरमा सुधार ल्याउने मात्र होइन, पुरस्कार जित्ने अवसर पनि दिन्छ । वेकफिटले तीन सिजनमा एक लाखभन्दा बढी आवेदन प्राप्त गरेको जनाएको छ । कम्पनीका अनुसार ५१ इन्टर्नहरू संलग्न गरिए, जसमा कुल ६३ लाख भारतीय रुपैयाँ भत्ताका रूपमा भुक्तान गरिएको छ । एजेन्सी