काठमाडौं–वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज इन्द्रजात्रा पर्व परम्परागत रुपमा मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा यो पर्व धूमधामसँग मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुन्छ, जसलाई इन्द्रध्वजोत्थान भनिन्छ । यो जात्रा विभिन्न नाचगान, रथयात्रा, र देवीदेवताको पूजाआजासहित आठ दिनसम्म मनाइन्छ ।
इन्द्रजात्रामा भैरवको पूजा, भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार र पुलुकिसी नाच मुख्य आकर्षण हुन् । यस क्रममा राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी कुमारी, गणेश, र भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । जात्राको अन्तिम दिन, आश्विन कृष्ण चौथीका दिन, इन्द्रध्वज पातन गरेर जात्रा सम्पन्न हुन्छ ।
यस अवसरमा दहचोकको इन्द्रदहमा रातभर जाग्राम बस्ने र पूर्णिमाका दिन स्नान गर्ने भक्तजनको ठूलो घुइँचो लाग्छ । साथै, आजको दिन अनन्त चतुर्दशीको व्रत पनि गरिन्छ, जहाँ भगवान् विष्णुको पूजा आराधना गरिन्छ ।