काठमाडौं–हरितालिका (तीज) पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, र निःशुल्क पानी वितरणका साथै चार वटै सुरक्षा निकायले व्यवस्था मिलाएको जनाएको छ । भक्तजनलाई सहज प्रवेशका लागि चार स्थानबाट लामको व्यवस्था गरिएको छ । 

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट तिलगङ्गा पर्यटक टिकट काउन्टर हुँदै मन्दिर प्रवेश।

मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने व्यवस्था।

गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट आगमन।

गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश।

मुख्य मन्दिरभित्र प्रत्येक ढोकाबाट दुईदेखि तीन वटासम्म लामको व्यवस्था गरिएको छ ।

तीजको अवसरमा शुक्रबार बिहान तीन बजेदेखि चारै ढोका खोल्ने तयारी गरिएको छ । कोषका अनुसार महिला प्रहरीमात्र खटाउने व्यवस्था गरिएको छ, र मोबाइलले तस्बिर खिच्न कडाइका साथ निगरानी गरिनेछ ।

गर्भगृहको तस्बिर खिच्दा रु २,१००, मुख्य मन्दिरको तस्बिर खिच्दा रु १,१००, र मन्दिर परिसरको तस्बिर खिच्दा रु ५०० जरिवाना लाग्नेछ । पुरुष दर्शनार्थीलाई बिहान ६ बजेपछि मन्दिर प्रवेश गर्न नपाउने भएका छन् ।