काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

बुधबार मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मतमा सघाउन केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालय अन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यस पश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । 

‘देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो’, मन्त्री पौडेलले भने, ‘स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।’

केन्द्रका अध्यक्ष पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे ।