काठमाडौं–प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको बैठकले जोशीलाई पदोन्नति गरेको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । आईजीपी कुँवरले बधाई दिंदै, संगठनप्रति देखाएको समर्पण र योगदानको उच्च मूल्याङ्कन गरिएको बताए ।

उनले व्यक्तिगत स्वार्थभन्दा पनि सांगठनिक हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै थपिएको जिम्मेवारीमा पारदर्शिता र जवाफदेहिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।