काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको आदेशमा डोजर चलाइएको विषयमा नेपाली सेनाले सम्बन्धित निकायमा कुरा भइरहेको प्रारम्भिक प्रतिक्रिया जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।
उनले भने, ‘त्यस विषयमा हाम्रो तर्फबाट जसले सम्बन्धित निकायमा कुरा गर्नुपर्ने हो, उहाँहरूले कुराकानी गरिरहनुभएको छ, त्यसपछि मात्रै अन्य प्रतिक्रिया दिन सकिन्छ ।’
सैनिक अधिकारीको अनुरोध अस्वीकार गर्दै पाण्डेले हिजो त्यहाँ सेनाको संरक्षणमा रहेको उक्त क्षेत्रको पर्खाल डोजरले भत्काउन लगाएका थिए । त्यहाँ भित्र नेपाली सेनाको गण रहेको छ ।
सोमबार पाण्डे डोजर लिएर पुगेपछि ती सैनिक अधिकृतले आवश्यक प्रक्रिया पूरा गरेर डोजर चलाउन आग्रह गरेका थिए । तर, पाण्डेले आफूले प्रधानमन्त्री बालेनसँग छलफल गरी आदेश लिएरै आएको भन्दै सेनासँग वादविवाद गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ ।
यसैबीच प्रधान सेनापति अशोक सिग्देलले पनि आज बिहान प्रधानमन्त्री शाहलाई भेटेका छन् ।






































