काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना भएको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथमिकता दिने निर्णय गरेको छ । मन्त्रालयले तत्कालीन, मध्यकालीन, र दीर्घकालीन सुधारका पहल थालनी गर्ने जानकारी गराएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै, अतिजरुरी बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरका छन् । उनले यसका लागि आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायलाई सक्रिय पार्ने उल्लेख गरे ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको घटनाको सन्दर्भमा गरिएको हो । एयर डाइनोस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ ।
यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएक थिए ।
मन्त्रालयले मुलुकको उड्डयन क्षेत्रको स्थिति र हवाई क्षेत्रका समस्याहरूको समाधान खोज्न सबैको साथ, सहयोग, र सुझावको अपेक्षा गर्दै तत्काल र दीर्घकालीन सुधारका लागि सुझाव दिन अनुरोध गरेको छ ।






































