काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । 

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । 

OM Sai Pathibhara Hospital

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ । 

सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने तयारी गरिरहेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । 

ओली नेतृत्वको सरकारमा कांग्रेसको ८८, एमालेको ७८, जसपाको ७ र लोसपाको ४ सहित १७७ सांसद सरकारमै छन् । त्यसबाहेक जनमतको ६, जसपा नेपालको ५ र नागरिक उन्मुक्तिको ४ सहित प्रधानमन्त्री ओलीले दुई तिहाइ बढी अर्थात् १९२ सांसदको समर्थन पाउने देखिएको छ ।