काठमाडौं— असार सकिँदा ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ। 

कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार असार ३१ गतेसम्म देशभर ६८.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। 

OM Sai Pathibhara Hospital

धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जनाएको छ।

सुदरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिन लागेको छ। त्यहाँ रोपाइँ हुने कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ। अहिलेसम्म १ लाख ७४ हजार ५७६ हेक्टरमध्ये १ लाख ६५ हजार ८४७.०२ हेक्टरमा रोपाइँ भएको हो।

त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाली प्रदेशमा ८६.२ प्रतिशत रोपाइँ भएको छ। कर्णालीमा रोपाइँ हुने जग्गा ४१ हजार ९०४ हेक्टरमध्ये ३६ हजार १२९.५ हेक्टरमा रोपाइँ भएको।​ 

देशभरमा सबैभन्दा धेरै धानबाली हुने मधेस प्रदेशमा ६१.५ प्रतिशत अर्थात २ लाख ३५ हजार ४७५ हेक्टरमा रोपाइँ भएको छ। मधेस प्रदेशमा रोपाइँ हुने क्षेत्रफल ३ लाख ८३ हजार १५० हेक्टर हो। 

लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ। त्यसमध्ये ६६.७ प्रतिशत अर्थात २ लाख ७ हजार ८३९ हेक्टर जग्गामा रोपाइँ सकिएको छ। कोसी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टमा रोपाइँ हुने गरेकामा शुक्रबारसम्म त्यसको ६१.७ प्रतिशत अर्थात १ लाख ७० हजार ४५०.६२ हेक्टरमा रोपाइँ सकिएको  केन्द्रले जनाएको छ।

बागमती प्रदेशमा ७९ हजार २५८ हेक्टरमा रोपाइँ सकिएको छ। बागमतीमा धान रोपाइँ हुने १ लाख १४ हजार ५६१ हेक्टर जमिनमध्ये ६२.२ प्रतिशत क्षेत्रमा धान रोपिसकिएको हो। 

त्यस्तैगरी गण्डकी प्रदेशमा धान रोपाइँ हुने ९६ हजार ५३ हेक्टरमध्ये ६७.४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। गण्डकीमा ६४ हजार ७४६.७ हेक्टरमा धान रोपिसकिएको केन्द्रका सूचना अधिकारी रिजालले जानकारी दिए।  

असारको अन्तिम हप्ता रोपाईँ​ तीव्र भयो। तेस्रो सातासम्म पनि देशभर पर्याप्त पानी नपरेकाले आकाशे पानीको भर पर्नुपर्ने अधिकांश ठाउँमा धान रोपाइँ भएको थिएन।

पछिल्लो हप्तादेखि पानी निरन्तर परेपछि किसानहरूले धमाधम रोपाइँ गरिरहेका छन्। असार २९ गतेसम्म मात्र ५६.५ प्रतिशत रोपाइँ भएको थियो। कृषि विभागका अनुसार, अघिल्लो आइतवारसम्म ४२.६ प्रतिशत रोपाइँ सकिएको थियो। असार १२ गतेसम्म ९.८ प्रतिशत मात्रै रोपाइँ भएको थियो।

पानी पर्न ढिला भएसँगै धानको बीउ राख्ने बेलामा किसानले समस्या भोग्नुपरेको थियो तर मनसुन सक्रिय भएपछि धमाधम रोपाइँ चल्यो। प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको मुख्य आधार मानिन्छ। नेपालमा मुख्यगरी चैते धान र वर्षे धान गरी दुई बाली लगाइन्छ। 

वार्षिकरुपमा करिब ७० लाख मेट्रिक टन धान खपत हुने गरेको छ। यसवर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको थियो। चालु आवमा गतवर्षको तुलनामा ३३ प्रतिशतले धान उत्पादन बढेको थियो। १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान लगाइएको थियो। 

नेपालमा वर्षे धनको औसत उत्पादकत्व ३.९८ मेट्रिक टन रहेकोमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ टनभन्दा माथि रहेको छ। वर्षे धानभन्दा चैते धानको उत्पादकत्व धेरै भएकाले सरकारले चैते धान लगाउने क्षेत्रफल बढाएर उत्पादन बढाउने नीतिसमेत लिएको छ।