काठमाण्डौ  । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।

बुधबार हेलम्बु –१ अम्बाथान स्थित मुहान स्थलमा अवलोकनका लागी पुगेका प्रतिनिधि मण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बाँकी काम अबको १० दिनभित्र सम्पन्न हुने बताए । उनले सरकारको लक्ष्य अनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए ।

OM Sai Pathibhara Hospital


अवलोकनमा पुग्नुभएका प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौंबासीलाई पानी खुवाउनुपर्ने बताए ।


खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी काम गर्न लागिपरेको बताए । अवलोकनमा टोलीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, वित्त आयोगका सदस्यहरु जुद्ध गुरुङ , विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी लगायतको सहभागिता थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए ।

गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्र्यानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ । २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहस बनाएपछि काठमाडौँमा अस्थायी रुपमा पानी ल्याउने गरिएको छ ।