काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार(आज) काठमाडौँ आउँदै छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको भएको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए। भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो। उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन्।

OM Sai Pathibhara Hospital

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नेछन्। नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो।

संयुक्त आयोगको बैठक आजै सुरु हुनेछ । भारतीय विदेशमन्त्री जयशंकर आज बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी विशेष विमानमार्फत काठमाडौं आउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन् ।

बिहान ११ बजे विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

राष्ट्रपतिलाई भेटेर बाहिरिएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मध्याह्न १२ बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

आज दिउँसो १ बजे उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दरबारमार्गथित होटेल याक एन्ड यती जाने कार्यक्रम छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् । बैठकमा सहभागी हुनुअघि उनले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गर्नेछन् ।

आज दिउँसो १ः४५ बजे नेपाल र भारतबीच विद्युत् र आर्थिक सहयातासम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।

आज दिउँसो २ बजे भारतीय विदेशमन्त्री जयशंकर उनको सम्मानमा परराष्ट्रमन्त्री साउदले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् । आजै साँझ साढे ६ बजे उनी विदेशमन्त्रीले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने कार्यक्रम छ ।

शुक्रबार बिहान साढे ९ बजे भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र अन्य भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । उनी शुक्रबार मध्याह्न साढे १२ बजे भारत फर्कनेछन् ।