काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ ।
शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् ।
सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने भएको छ ।
त्यसैगरी सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ ।
सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई शहीद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने भएको छ ।
सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन् । मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था गृहमन्त्रालयले गरिदिने भएको छ ।