काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले बताएका छन ।

शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक रूपमा आश्वासन दिइए पनि पीडित परिवारसँग सहमति नभएको बुढाले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

पिडितले ८ वटा मागहरू पेश गरेको तर सरकारले त्यसबारे निर्णय गर्ने भनेर आश्वासन दिए पनि निर्णय भएको छैन ।  मागको निर्णय नगरेसम्म पिडित पक्षले शव नबुझ्ने बताएका छन । सरकारले माग पूरा नगरे आन्दोलनमा जाने बुढाले बताए ।मृतकका परिवारले सरकारले गठन गरेको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्तिका साथै रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् ।

मृतक सुजनका मामा टेकबहादुरका अनुसार सरकारले बनाएको छानबिन समिति ठिक भएन । त्यसलाई विघठन गरेर पीडित पक्ष हाम्रो पनि प्रतिनिधि सहितको स्वतन्त्र न्यायिक छानबिन समिति बनाउनुपर्छ ।   पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा रोजगार लगायतका ८ विषयमा माग गरेको बुढाले बताएका छन साथै माग पूरा नभएसम्म शवको पोस्टमार्टम गर्न पनि नदिने पिडितको भनाइ छ।

मृतकको शव किष्ट अस्पताल र पाटन अस्पतालमा राखिएको छ । मृतकका केही आफन्तहरू काठमाडौँ आइपुगेका छन् । शुक्रवार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

सरकारले सो घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य संयोजकत्वमा एक छानबिन समिति बनाएको छ । सो छानबिन समितिमा ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेका छन् ।

सरकारले सो घटनामा सुरक्षा निकायको तर्फबाट लापरबाही भएको निष्कर्ष निकाल्दै केही प्रहरीलाई निलम्बन गरेको छ । प्रहरीका फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ । ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको छ।

साथै ललितपुर बालकुमारीमा रहेको ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई थप अनुसन्धानका लागि गृह मन्त्रालय तानिएको छ ।