काठमाडौँ । सरकारले आगामी वर्ष विक्रम संवत् २०८१ सालमा दिइने सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को यही पौष ५ र १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राम नवमी पर्व तथा माघ १६ गते सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइन ।

OM Sai Pathibhara Hospital

मन्त्री शर्माले आगामी वर्षका लागि कार्यालय समय तथा अन्य बिदाहरू भने यथावत् रहेको बताइन ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक कार्यदल गर्ने गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट लिइएका ६ वटा नेपाली नागरिकता रद्द गरी उनीहरुलाई नेपाली नागरिकबाट हटाउने, मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैह्र आवासीय राजदूतको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथीमा र ९ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने, स्वप्न बगैँचा विकास समितिको सदस्यमा सृजना मल्ल राणा र लोकभक्त शमशेर जबरालाई मनोनयन गर्ने, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।FB_IMG_1703852468860FB_IMG_1703852465081