काठमाण्डौ  ।  नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर सन्दिप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दिपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।

OM Sai Pathibhara Hospital

गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गतवर्ष भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

उनको सजायका लागि पुस २५ मा पेसी तोकिएको छ । अदालतले पीडित गौशाला-२६ को जन्ममिति २०६३ असार १८ गते भएको भन्दै उनलाई नाबालिग भने ठहर गर्न नसक्ने बताएको छ ।

नाबालिग नभए पनि पीडितको आर्थिक अवस्था र बयान समेतलाई ध्यान दिँदा करणी सहमतिमा नभएको देखिएको अदालतले भनेको छ ।

अदालतले सीसीटिभी फुटेज, पीडितको बकपत्र, साक्षीको बयान लगायतका तथ्यलाई निर्णय आधारका रुपमा लिएको छ । फैसलाको पूर्णपाठ भने पछि आउने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।