काठमाण्डौ  ।  दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दाेलनमा उत्रिएका छन् ।

प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियाे । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

‘मामा भान्जाहरु एकै चिहान भएका छन् । मरेर जानेहरु फर्किन सक्दैन् । परिवारमा पीडा परेकाे छ । याे बेलामा सहानुभूति समेत नदेखाएर उपेक्षा गरेर अन्याय गरिएको छ’ संयाेजक प्रमाेद पाेख्रेलले भने ‘याे बेलामा प्रहरी प्रशासनले पनि खासै चासाे देखाएकाे छैन । हामी पीडामा छाैँ । याे बेलामा हामीलाई न्याय चाहिएकाे हाे, पीडा चाहिएकाे हाेईन ।’

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति करिब १०:१५ बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शव गृहमा राखिएको छ ।