काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् ।

२९ औं काठमाडौं महानगर दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शहरको सौन्दर्य, शिक्षाको विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले लिएका पहलले सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

‘राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न तपाईहरूको प्रयास प्रशंसनीय छ ।’ उनले भने ‘मेरो विश्वास छ– काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ ।’

उनले यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोगका निम्ति सधै तत्पर रहेकाे बताएका छन् ।