काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।

महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मालाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको हो।

OM Sai Pathibhara Hospital

यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।

यस्तै जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

यसैसँग जोडिएको आगलागी मुद्दामा सातै जनाले जनही ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीले तिर्नुपर्ने फैसला भएको छ। यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र अर्का प्रतिवादी पवन कापडले भने दुवै मुद्दामा सफाइ पाएका छन्।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।