काठमाडौँ । प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको आरोप लागेको छ।

मङ्गलवार जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाइ नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको थियो। मुद्दाको निरन्तर सुनुवाइ आज जारी रहनेछ । 

OM Sai Pathibhara Hospital

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।

हत्यामा तत्कालीन मधेसवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद)लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो । त्यति बेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते महतोलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत, जनकपुरले २०७७ मङ्सिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन् ।