काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानूनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ ।

२०७६ साल असोज ९ गते उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालत प्रशासनले आज सूचना निकालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि जनाएका छन् ।

सोमबार सिंहदरवारमा आयोजित केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्रीले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘जे भयो गलत भयो । सरकारले विप्लवहरूसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरू शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरूलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ ।’

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।