काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आज सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इम्फालको राजधानी मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेको थियो ।  सेनाले लेइथु गाउँमा १३ वटा शव भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्, एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

OM Sai Pathibhara Hospital

गैर आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसललाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए । 

प्रहरीले गएको भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको जेठ १५ गतेदेखि अहिलेसम्म यस क्षेत्रमा एक सय ७५ जनाको ज्यान गएको छ । तथ्याङ्कअनुसार यो अवधिमा एक हजार एक सय १८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।