काठमाडौँ   ।   मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका तीन जनामध्ये दुई प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत रसुवाले जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारूलाई धरौटीमा छोड्न आदेश दिएपनि तोकिएको धरौटी बुझाउन नसक्दा  उनीरूलाई थुनामा पठाइएको हो।अदालतले उनीहरूले जनही ६ लाख ५० हजार धरौटी बुझाउन आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई थुनामा पठाइएको हो।

OM Sai Pathibhara Hospital

मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमै पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ रू तीन लाख धरौटीमा रिहा भएका छन्। पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको थियो।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका करिव ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका थिए। सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

पक्राउ परेका व्यक्तिलाई थुमनबाट धुन्चे पुर्‍याउन प्रहरीले आफू‍लाई अनुरोध गरेको, दावा ग्याल्जेनले मोटरसाइकलमा राखेर  ल्याउँदै गर्दा तार्सेन भन्ने ठाउँबाट भोटेकोसीमा हामफालेर भागेको बयान उर्केनले दिएको प्रहरीले जानकारी दिएको छ। पीडित तथा आफन्त शुभचिन्तक एवं गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका लागि सडक संघर्षसमेत गरेका थिए।