काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । 

अधिवक्ता स्वागत नेपाल, दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् ।

OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्ध पेस भएका रिटहरु अध्ययनका क्रममा रहेका छन् । उनले अध्ययनपछि रिट दर्ता हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय हुनेछ । 

सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् । तर पनि प्रयोगकर्ताले विभिन्न तरिकाबाट टिकटक चलाइरहेका छन् । 

सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद्को बैठकबाट नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाकिज सथभाव विथोलेको, राष्ट्रियताप्रति अर्नगल प्रचार भएको र सामाजिक न्यायका लागि पनि टिकटक बन्द गर्नुपर्ने अवस्था आएकोले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारले बताएको थियो । त्यसपछि यसको पक्ष विपक्षमा बहस चलिरहेको छ ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

सरकारले टिकटक बन्दको निर्णय लिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रादायक सस्थाहरुलाई टिकटक बन्द गर्न निर्देशनात्मक पत्र पठाएको थियो । त्यही पत्रका आधारमा अहिले टिकटक नेपालमा बन्द छ ।