काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । यो कार्यदल गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम्भाव्य अनुसन्धान गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।