झापा  ।  झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोक देखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउने क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद सजाय भएको छ ।

सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो ।गाउँपालिका तत्कालीन अध्यक्ष जय नारायण साह, उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ ।

OM Sai Pathibhara Hospital

आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाबाट विनियोजित रकमबाट गाउँपालिका वडा नं ३,६ र ७ भित्र पर्ने ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ आयोजनमा भए गरेको कामभन्दा २२ लाख ८ सय २३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेषले फैसला सुनाएको हो ।

गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईंलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।

लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुव्वा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार नौ सय ६४ रुपैयाँ जरिवाना भएको छ ।