काठमाडौं । दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका-८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भएको छ।

OM Sai Pathibhara Hospital


दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् । दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, "के दशैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ ।" तर सरकार निर्दयी बनेको उनको गुनासो छ । प्रशासनले दशैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए । एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको गएको पत्तैछैन साह परिवारलाई ।


गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो । आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।

२२ वर्षीया आरतीको २२ महिना अघिमात्र मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो । विवाहमा मागेको २५ लाख रुपैयाँ दाइजो लिएको साह परिवारले पछि दाइजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।


मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ । दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ ।


मनिषाले भनिन् ‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिएपनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’।

आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन् ।
चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन् । आरतीको आत्महत्या नभइ हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।