काठमाडाैं  ।  नेपाली सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ । रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको छ ।

सेनाले भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्र्र्र्र्र्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ । पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चारमाध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ ।’ प्रारम्भिक चरणमै रहेको प्रक्रियामा विभागीय मन्त्री लगायत राजनीतिक नेतृत्व र प्रधानसेनापतिको स्वार्थ र दबाब रहेको भन्ने आरोप निराधार एवं कपोलकल्पित रहेको भन्दै नेपाली सेनाले खण्डन गरेको छ ।

OM Sai Pathibhara Hospital

हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रक्रिया रहेको नेपाली सेनामा व्यक्ति विशेषको पदोन्नतिका लागि राजनीतिक नेतृत्वबाट दबाब रहेको भन्नुमा कुनै सत्यता नरहेको सेनाले जनाएको छ । सेनाले भनेको छ, ‘विधि, पद्धति र लामो समयको स्थापित अभ्यासहरूबाट निर्देशित भई क्रियाशील नेपाली सेनाका बारेमा भ्रम फैलाउने ढंगले पूर्वाग्रह प्रेरित सामग्रीहरू सम्प्रेषण नगरिदिन सम्बद्ध जिम्मेवार मिडियाकर्मीहरूमा अनुरोध छ ।’ नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे रथी बढुवाका लागि सिफारिस भएको थियो । सैनिक मुख्यालयले रिक्त हुने रथी पदमा हाल सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको थियो । रथीमा बढुवा सिफारिस भएसँगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने निश्चित भएको छ । सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसेका छन् । सेनामा राणासँगै अर्का रथी सिताराम खड्का समेत छन् । उनी समेत उमेर हदका कारण आगामी पुस ३ गते अनिवार्य अवकाशमा जाँदैछन् । राणाले अवकाश पाएसँगै रिक्त पदमा सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी ताराध्वज पाण्डे रथीमा बढुवा हुनेछन् । सेनाका बलाध्यक्ष रथी खड्काले पुस ३ गते अवकाश पाएपछि मात्र अर्का उपरथी अशोकराज सिग्देल सेनाको रथीमा बढुवा हुनेछन् । त्यसबेला पाण्डे उनीभन्दा ३ महिना सिनियर भइसकेका हुनेछन् ।FB_IMG_1698118671664

हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन् । त्यसपछि पाण्डे नेपाली सेनाको ४५औं प्रधानसेनापति नियुक्त हुने देखिएको छ । पाण्डेलाई रथी बढुवामै विवादित गरेर सेनापति हुनबाट रोक्ने गरी भइरहेको प्रयत्नको सेनाले खण्डन गरेको छ ।