काठमाण्डौ  ।  हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।

उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् । अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।

OM Sai Pathibhara Hospital

इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा उनीहरूको समावेशलाई त्यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक सन्देश भएको भनी व्याख्या गरिएको थियो ।

सन् २००६ मा प्यालेस्टिनी संसद्मा निर्वाचित भएकी श्यान्टीको प्यालेस्टिनी राजनीतिमा लामो इतिहास छ । सन् २००७ मा हमासले गाजाबाट प्यालेस्टिनी संसद्लाई हटाएर सत्ता कब्जा गरेयता चेम्बरको बैठक बस्न सकेको छैन । गाजामा गत अक्टोबर ७ तारिखदेखि इजरायली आक्रमणमा मारिएका हमासका कैयौँ सदस्यमध्ये श्यान्टीको पनि एक हुन् ।

युद्धका क्रममा इजरायलमा मारिएका एक हजार ४०० भन्दा बढी मानिसमध्ये अधिकांश हमासको चपेटामा परेका सीमावर्ती समुदायका नागरिक थिए ।गाजामा इजरायली आक्रमणका कारण करिब तीन हजार ५०० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।