काठमाण्डौ । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दशैं मनाउन घर जाँदै गरेकी रामेछापकी युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी घाइते भएकी रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो । आज बिहान पनौती नगरपालिका ५ सुन्दर बस्तिस्थित काठमाडौँबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानले ठक्कर दिई दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी गम्भीर घाईते भएकी रमिलालाई धुलिखेल अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दशैं मनाउन इलेक्ट्रिक भ्यानमा चढेर खुर्कोट हुँदै मन्थली जाने क्रममा रमिलाको दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रामेछापकी मन्थली नगरपालिका–१२ की पुष्पा तामाङ, लिखुतामाकोशी गाउँपालिका ६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, इलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार रहेका छन्।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) डुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार इलेक्ट्रिक भ्यान चालक पनौती नगरपालिका ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिइएको छ ।