काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुण तेस्रो जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिएका छन्। बोर्डको बैठकमा प्रचण्डले सो निर्देशन दिएका छन् ।

असोज ३० मा सम्पन्न लगानी बोर्डको ५६ औं बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी ( दिदिङ्ग सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकुल वातावरण रहेको सन्देश प्रवाहित हुने बताए । परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढंगले काम गर्न उनले निर्देशन दिए ।

बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगायत सहभागि थिए।