विराटनगर । मुख्य पर्वहरु नजिकिँदै गर्दा कोशी प्रदेशमा यात्रुहरुको सुविधाका लागि विभिन्न स्थानमा प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठलगायत पर्वका बेला प्रहरीले सार्वजनिक सवारीसाधन सञ्चालनमा निगरानी बढाउनुका साथै यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाएको छ ।

निगरानीका लागि राजमार्ग र अन्य सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । यसैगरी विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ती कक्षमा ट्राफिक प्रहरीले नियमित सेवा दिने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी सरोज पौडेलका अनुसार पर्वमा धेरै चहलपहल हुने र यात्रुहरु एक स्थानबाट अन्य गन्तव्यमा जाने क्रम ह्वात्तै बढ्ने भएकाले सहायता कक्ष सञ्चालनमा ल्याइनुका साथै निगरानी बढाइएको हो ।

यसका लागि स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक तथा सवारी मजदुरसँग सम्बन्धित संघ संगठनका प्रतिनिधिसँग समन्वय भइरहेको जनाइएको छ ।

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, सामानको सुरक्षा नगर्ने, यातायातका साधनमा सिट आरक्षणको नियम पालना नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कामलाई निरुत्साहित पर्ने पौडेलले बताए ।

प्रदेशका १९ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा आइसकेको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, इलामको फिक्कल, धनकुटाको बसपार्क, हिले, साँघुरीगढी, तेह्रथुमको लालीगुराँस चोक, म्याङलुङ्, उदयपुरको त्रियुगा बसपार्क, पाँचथरको फिदिम, भोजपुरको देउराली, खोटाङको सहिदगेट, ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडा, संखुवासभाको खाँदबारी तथा सुनसरीको इटहरी बसपार्क र कोशी गाउँपालिकाको शिवचोकमा सहायता कक्ष सञ्चालनमा छन् ।