काठमाडौं । मनाङ एयरको ९एन–एएनजे नामक एएस ३५० सिरिजको हेलिकप्टर आज (शनिबार) बिहान दुर्घटनामा परेको छ । हाइ अस्टिच्यूडको विरामीको उद्धारमा रुम्झाटारबाट लुबुचे उडेको उक्त हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भएर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइ घाइते भएका छन । उद्धार उडानमा गएकोले उक्त हेलिमा अरू यात्रु भने थिएनन् । हेलिकप्टर दुर्घटनाबाट घाइते भएका क्याप्टेन सेढाइलाई फिस्टेल एयरको ९एन एजेआर नामक हेलिकप्टरले उद्धार गरेर लुक्ला ल्याएको थियो ।

OM Sai Pathibhara Hospital

लुक्लबाट पनि क्याप्टेनलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । क्याप्टेन गम्भिर घाइते नभएको जानकारी प्राप्त भएको पनि भुलले बताए ।

उक्त हेलिकप्टर शनिबार बिहान ७ः१३ मिनेट उडेको थियो । हेलिकप्टर दुर्घटना भएको जानकारी पाएसँगै प्राधिकरणको टोली लुक्ला गइसकेको छ । त्यहाँबाट घटनास्थल पुगेर विस्तृत विवरण संकलन हुने जानकारी पनि प्राधिकरणका सूचना अधिकारी भुलले दिए ।

यस अघि नाम्चे क्षेत्रमै मनाङ एयरका हेलिकप्टर दुर्घटना परेको थियो । बाँकी एउटा हेलिकप्टर पनि शनिबार दुर्घटनामा परेपछि दशैंको मुख तथा पर्यटकीय सिजनमै यो हेलिकप्टर कम्पनी जहाज बिहिन भएको छ ।