विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट नवजात शिशु बिक्री गरेको आरोप लागेका डाक्टरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो । इजलासको आदेशपछि उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

OM Sai Pathibhara Hospital

अदालतका सूचना अधिकारी ओमराज सुवेदीले विराटनगर–११ जनपथ टोलका निर्मला यादव, मोरङ कटहरी–२ की शुक्री राजवंशी र दिलमनीदेवी राजवंशीलाई धरौटी छाड्न इजलासले आदेश दिएको छ । इजलासले शुक्रीसँग दुई लाख, निर्मलासँग एकलाख र दिलमनी देवीसँग १० हजार रुपैयाँ धरौटी मागेको छ ।

२६ वर्षीया अविवाहित युवतीले असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशु (छोरी) जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गोविन्दले गर्भवती बनाएपछि प्रसूतिका लागि अस्पताल लगेका थिए ।प्रहरीले कम तौलको भन्दै शिशु गायब पारी डा. तपेश्वरलगायतले बिक्री गरेको अनुसन्धानबाट खुलेको अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । सामान्य प्रसूतिमार्फत छोरी जन्माएपछि गोबिन्दले युवतीलाई सुनसरीको इटहरी पुर्‍याएर होटलमा राखी भागेका थिए ।

साउन ३२ गते युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिँदै आफूले छोरी जन्माएकी छोरी अस्पताबाटै हराएको बताएकी थिइन् । त्यसपछि अनुसन्धान गर्दा डा. तपेश्वरले निःसन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलेको थियो । मोरङको कटहरी–२ आदर्श टोलका गत सूर्यनारायण राजवंशीले पाँच लाखमा शिशु किनेर लगेको प्रहरीले पत्ता लगाएको थिए । चाँजोपाँजो अस्पतालकी सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीले मिलाएको प्रहरीले बताएको छ ।