काठमाण्डौ   ।    वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। 

गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उनको छ। आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो कुटाइबाट घाइते भएका युवा दीपेन्द्र अर्यालले भने। वालिङका अर्यालसहित अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

OM Sai Pathibhara Hospital

हिरासतमा रहेकै अवस्थामा मध्यराति १ बजेसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै केला कुटपिट गरी घाइते बनाएपछि उपचारका लागि गह्रौँ प्राथमिक अस्पतालमा लगिएको अर्यालले बताए। अस्पतालले अर्यालको अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि बुटवल रिफर गरेको थियो। पीडित अर्याल एक हप्तापछि उपचार गरेर पुनः प्रहरीको सम्पर्कमा आएका हुन् । उनको शरीरमा नीलडाम र खुट्टामा गहिरो चोट लागेको प्रस्ट देखिन्छ । उपचारको सबै रिपोर्टसहित उजुरी गरिएको अर्यालको भनाइ छ।

कुटपिट मुद्दामा जिल्ला अदालतबाट सामान्य धरौटीमा छुटेपछि उनीहरू न्यायका लागि जिल्ला प्रशासन र मानव अधिकार आयोगमा उजुरी गर्न पुगेका हुन्। हिरासतमा रहेका बेला प्रहरी निरीक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको आरोप उनीहरुको छ।