काठमाडौँ ।  दिन-दहडै खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल 'रिगल'काे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चमा आज सुनुवाइ गर्ने भएको छ। 

OM Sai Pathibhara Hospital

संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएकाे रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। 

आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको राष्ट्रपति रामचन्द्र पाैडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले  जानकारी दिएका छन्। 

'डन'को छवि बनाएका रिगलले २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा चेतन मानन्धरको हत्या गरेका थिए। जन्म कैदको सजाय पाएका रिगललाई सरकारले छोडेपछि पीडित परिवारसमेत त्रासमा बाँचिरहेका छन्। 

चेतनकी श्रीमती भारती न्यायको लागि हाल काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेकी छिन्। कानुन मरेको देशमा भारतीको अनसनमा समर्थन जनाउन आज महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन नै गरेका थिए। 

सुनुवाइकाे अघिल्लो दिन आाज उनीहरुले आममाफीको निर्णय फिर्ता गरी रिगललाई जेल चलान गर्न माग गरेका छन्। आन्दोलनकर्मी कल्पना बस्नेतले अनसनरत भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा रोकिनुपर्ने माग गरिन्। 

महिला अधिकारकर्मी अञ्जु केसी 'श्रेष्ठ'ले यो घटनाले संविधानको धज्जी उडाएको टिप्पणी गरिन् तर राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले भने संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्ने अधिकार नदिएकाले सरकारको कुनै पनि निर्णयको गुण र दोष कार्यकारीले पाउने बताउँछन्।