भद्रपुर । चाडपर्व नजिकिएसँगै भन्सार छलेर लत्ताकपडालगायत विभिन्न सामाग्री भित्र्याउने क्रम बढेपछि राजश्व अनुसन्धान कार्यालयले व्यापारीको गोदाममा छापा मारेको छ । आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुरमा रहेको संजीव घोषको गोदाममा छापा मारेको हो ।

भद्रपुर बजारमा सनराइज बैंक भएको बिल्डिङमा रहेको अनुज एन्ड सप्लायर्सको गोदाममा छापा मारेर राजश्व अनुसन्धान कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको टोलीले आइतबार करिब तीन बजे उक्त गोदाममा छापा मारेको थियो ।  गोदामबाट खरिद बिक्री खाता, काटिएको भ्याट बिल लगायतको कागज पत्र नियन्त्रणमा लिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । छापा मारेर कागज पत्र राजश्वले लगेको ब्यवसायी सन्जिब घोषले स्वीकार गरेका छन ।

OM Sai Pathibhara Hospital

खरिद बिक्री खाता, भ्याट बिल लगायतको कागजात नियन्त्रणमा लिएका छौँ  अनुसन्धानपछि कारबाहीको कुरा हुन्छ।,’ राजश्व कार्यालय प्रमुख आचार्यले भने।

भन्सार छली गरेको सामाग्री बोकेको सूचनाका आधारमा गाडी पक्राउ गरेर राजश्व अनुुन्धान कार्यालय इटहरीमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल झापा नं. २ गणका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिएका छन। 

शनिबारमात्रै सशस्त्र प्रहरी बलको टोलीले बिर्तामोड३ स्थित आदर्श पेट्रोप पम्प छेउबाट को १ च ६४०० नम्बरको गाडी पक्राउ गरेको थियो । सो गाडिमा बिलबिजक र सामान नमिले पछि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको  उपरीक्षक देवराज अर्यालले बताएका छन।

झापाको विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएको लत्ता कपडा, पटका, चिनी लगायतका सामान झापा, मोरङ, सुनसरी, काठमाण्डौसम्म पुग्ने गरेको छ । पछिल्लो समय झापाको कुन्जिबारी, टागनडुब्बा, गौरिगन्ज, केचना, पाठामारी, घेराबारी, भद्रपुर,ज्यामिरगडी, बन्सलबगान, साठिबिगा, चर्छ छेउ, काकर्भिट्टा उत्तर खेल मैदान, तिरिङ नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेको छ ।

व्यापारीले भद्रपुर भन्सारबाटै सेटिङमा सामान ल्याउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार तस्करीमा संलग्नहरुले भन्सारका कर्मचारी, प्रहरी, राजनीतिक दलका कार्यकर्तासँग समेत सेटिङ मिलाएर सामान नेपाल भित्राउने गरेका छन् ।