काठमाडौँ । सुरक्षा परिषद् बैठकमा नेपाली सेना परिचालन गर्न पर्ने अवस्था आउन सक्नेबारे छलफल भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकमा नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको ती मन्त्रीलाई बताए । पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको परिषद्‍ बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सेनालाई परिषद् बैठकले सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ। त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ।

परिषद्का अध्यक्ष दाहालको अध्यक्षतामा बसेको परिषद्को ३१औँ वैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ ।

परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।