काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छिन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी हुन् । उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखिन् ।जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ । उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट पार्दै सरकारले गरेको निर्णयबाट फिर्ता हुने सम्भावना नरहेको स्पष्ट पारिन् ।

OM Sai Pathibhara Hospital

यसअघि मंगलबार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको सार्वजनिक बिदा कटौती गर्न माग गरेका थिए । एमालेसँगै नेकपामा रहँदा नै जनयुद्द दिवसमा सार्वजनिक बिदा दिने निर्णय भएको शर्माले स्पष्ट पारेकी छिन् । त्यस्तै शर्माले सामाजिक सञ्जालमा हुने दूरुपयोग रोक्न तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।