काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएकाे छ । उनी मंगलबार साँझ नै हङकङ गएका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला ६० किलो सुन बरामद भएको थियो । उक्त प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि सिआइबीले इन्टरपोलको सहयोग मागेको थियो ।

OM Sai Pathibhara Hospital

सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एसएसपी दिनेशलाई सूचना संकलनका लागि हङकङ पठाएकाे प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ ।