काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।

बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, ‘कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।’

OM Sai Pathibhara Hospital

उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए । सो कार्यक्रममा मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘विगतमा पनि कहिले नेपाल श्रीलङ्का हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने तथा कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्ने गरेकाले यस्तो अवस्था आएको हो ।’

पहिलेदेखि र अहिले पनि मुलुकको निजी क्षेत्रले कहिल्यै पनि आफ्ना मात्र कुरा राख्ने नगरेको र यो नीतिगत सुधारदेखि लिएर सबै कुरा आफूहरुले समग्र मुलुककै अर्थतन्त्रको सुधारका लागि राख्ने गरेको उनले स्पष्ट गरे । अहिले पनि देशमा माग, आपूर्तिजस्ता क्षेत्रमा देखिएको ‘ग्याप’ को विश्लेषण गर्नुका साथै वैदेशिक लगानीलाई बढीभन्दा बढी मात्रामा व्यावहारिक रुपमै आकर्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

उनले मुलुकको अर्थतन्त्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दा यो सबै निजी क्षेत्रको मात्र समस्या हो भन्ने गलत सोचलाई सबैले त्याग्नुपर्ने भन्दै नेपाल राष्ट्र बैंक तथा सबै नियामक निकायले पनि परम्परागत तौरतरिकाबाट भन्दा पनि समयले खोजेको र हाल आवश्यक रहेको आर्थिक नीतिमा ध्यान दिनुपर्ने बताए ।