काठमाडौँ । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो ।

अदालतले खानलाई धरौटीमा छाड्न आदेश दिएको छ । पाकिस्तानका समाचार एजेन्सीहरूका अनुसार सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।

OM Sai Pathibhara Hospital

मुख्य न्यायाधीश फारूकले अहिलेलाई इमरान खानको आग्रह स्वीकार गरिएको पत्रकारहरूलाई बताएका छन् । पीटीआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतले स्वीकार गरेको बताए ।

खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो ।