काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरोध गर्ने र सभामुखले एमालेका सांसदलाई मात्रै बोल्न दिने गरेको आरोप लगाउँदै रास्वपाले सभामुखको भूमिका तटस्थ हुन नसकेको टिप्पणी गरेको हो । 

OM Sai Pathibhara Hospital

आज पनि एमालेले संसद अबरोध गरेपछि रास्वपाका सभापति रवि लामिछानेले संसद ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन्।

‘सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो। अनायासै सत्ता पक्षका सांसद बोल्नुभयो,’ सभापति लामिछानेले भने, ‘त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो।

प्रमुख प्रतिपक्ष दलका सांसदहरूले बोल्दाबोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो। बोल्न सिध्याउनु नि भएको छैन उहाँले। संसद हाइज्याक गरियो। संसद हाइज्याक गर्न पाइँदैन।’ सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए । तर सभामुखले रास्वपालाई बोल्न दिएनन् ।  ‘हामी घोर भत्र्सना गर्न चाहान्छौँ। यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरुलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जर्बजस्त अब बन्द गर,’ उनले भने, ‘ल गर तिमीहरू भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो।

सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर बिरोध गर्न चाहन्छौँ।’ यसअघि पनि लामिछानेले सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

रास्वपा सांसदहरूले विरोधका रूपमा यसअघि संसद् भवनबाहिर नै संसद् बैठकको अभ्यास गरेर आफ्नो धारणा राखेका थिए । पार्टीले संसद् अवरुद्ध भएको समयको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ।

एमाले सांसदहरूले सोमबार पनि अवरोधलाई जारी राखेपछि सभामुखले भदौ ३ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् ।