काठमाडौँ / नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका हुन् ।महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको विषय अगाडि नै प्रस्ट पारिसकेको भन्दै थप स्पष्ट पार्न चाहेको बताए । ‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु ।

फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् । नेता महराले आफ्नो भनी सञ्चारमाध्यममा आएको मोबाइल नम्बर आफ्नो नरहेको बताए । आवश्यक परे छानबिनमा सघाउने उनको भनाई छ । ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु,’ उनले अगाडि भनेका छन्, ‘आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’