काठमाडौँ । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किरातीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दु धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताएका छन ।

OM Sai Pathibhara Hospital

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुवात नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपती दर्शनभित्र समेटिएको बताए । उनले भने, “हिन्दु विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्धत पुग्नेछ ।”

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले हिन्दु धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिएका छन ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा.जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा रहेका छन् ।

समितिका संयोजक डा.गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताए । मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दु विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताएका छन ।