काठमाडौं : पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन।

OM Sai Pathibhara Hospital

भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसंगम जेठाराले जानकारी दिए।

यो वर्ष जगन्नाथपुरीस्थित गोवर्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गर्ने कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था हुनेछ।

यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि एक हजार ५०० को हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन्।

मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ। पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ। फूलले सजावट गर्ने काम शुक्रबार हुँदैछ।