बिर्तामोड / नेपालमा अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरू आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् । जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरूको रणनीति छ । तर, मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माको दैनिकी भने फरक छ । 

चुनावी प्रचारप्रसारलाई थाती राखेर उनी गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लागेका छन् । डा शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डागीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन् । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा. शर्माले उनको निःशुल्क उपचारको प्रबन्ध गरेका हुन् । डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उनलाई उपचारार्थ विराटनगर स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएका हुन् । 

OM Sai Pathibhara Hospital

नोबेल डा. शर्माकै स्वामित्वमा रहेको अस्पताल हो ।  डा. शर्माले बानियाँको निःशुल्क शल्यकृयाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य तर्फ डा. शर्मालाई नेपाली कंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।