झापा  / नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारका लागि छिमेकी मुलुक भारतबाट तीन लाख थान सयपत्रीको माला आयात गरिँदैँ छ । 

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाका अनुसार  भारतबाट करिब १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला आयात गरिने भएको हो । 

OM Sai Pathibhara Hospital

गत वर्षको तुलना यो वर्ष नेपालले ६३ हजार थान सयपत्री माला कम आयात गर्ने एसोसिएसनका अध्यक्ष लामाले बताए ।  गत वर्ष ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो भने यो वर्ष १७ लाख थान माला आन्तरिक उत्पादनबाट तयार गरिने छ ।

यो तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने अनुमान रहेको छ ।

तिहार आउन अब एक साता मात्रै बाँकी छ । तिहार पर्व बती र झिलीमिली र फूलमालाको पर्व भएकाले अहिलेदेखि नै बजारमा तिहारको लागि माला किन्ने र बेच्नेको चहलपहल सुरू भइसकेको छ । नेपालको विभिन्न क्षेत्रमा फूलको उत्पादन हुने भएतापनि फूलमालामा आत्मनिर्भर हुन सकेको छैन ।