विराटनगर / झापा गौरादह -६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सीतादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’

नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाडौं स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना राखिएको उनले बताइन् । अहिले फेरी विराट टिचिङ अस्पतालमा नै उपचार भइरहेको उनले बताइन् । अहिलेसम्म ४० पटक भन्दा बढी डाइलासिस गरिसकेको उनको भनाइ छ । मिर्गौला प्रत्यारोपण गर्न धेरै रकम लाग्छ, उनले भनिन्, ‘औषधी खर्च जुटाउन पनि समस्या भइसकेको छ ।’इच्छुकले प्राइम कमर्सियल बैंकमा रहेको खाता नं १०५००१११ पी डि अथवा ९८१६०४२२२९ र ९८२४०३००९८ मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्ने उनले बताइन् ।