बिर्तामोड / लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले पालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न पालिकाले आजबाट यो अभियान सञ्चालन गरेको हो ।

बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उमा उप्रेतीका अनुसार बुद्धशान्ति गाउँपालिका डेङ्गु जोखिमपूर्ण  क्षेत्र हो । उनले दिएको जानकारी अनुसार बुद्धशान्तिमा डेङ्गु  संक्रमण दिन प्रतिदिन बढिरहेको छ । बुद्धशान्ति गाउपालिका स्वास्थ्य शाखा र बुद्धशान्ति गाउपालिका -४ स्वास्थ्य एकाइको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानमा पालिका भित्र रहेका जनप्रतिनिधि , कर्मचारी र वडाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । 

OM Sai Pathibhara Hospital

बुद्धशान्ति वासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको बुद्धशान्ति गाउपालिका वडा नम्बर -४ का अध्यक्ष सेर बा. रायले बताए । उनले पानी जम्ने  भाँडाहरु , पानी भरिएका बस्तुहरू आफ्नो घर वरिपरि नराख्न र तस्तो बस्तुको प्रयोग नगर्न आग्रह समेत गरेका छन् ।  जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको गाउँपालिकाका मनोज प्रसाईँले बताए ।